काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् ।

थप १९ जनाको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । २४ घण्टाको अवधिमा बुधबार १२ जनाको मृत्यु भएको थियो ।