काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।

हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।