झापा । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।

डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।

मानिसहरुले गरेको गुनासोअनुसार फेसबुक म्यासेन्जरमा म्यासेजहरु आउन अनि पठाउनमा समस्या देखिएको छ । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।

डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।

पछिल्लो पटक नेपालमा पनि यो समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज पठाउँदा इन्टरनेट नो कनेक्सन भन्ने इन बक्समा सिग्नल आउने गरेको छ । तर, धेरै पटकको प्रयासपछि भने म्यासेज सेन्ड भएको देखाउने गरेको छ । स्रोतः बिजनेसइन्साइडर