बिर्तामोड । बितेको २४ घण्टाभित्र झापामा अत्याधिक वर्षा भएको छ । चन्द्रगढी विमानस्थलमा रहेको वर्षा मापन केन्द्रमा २४ घण्टामा ११६.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ ।

निरन्तरको वर्षाका कारण झापाको सबै क्षेत्रमा विहानैदेखि ठूला नदी, साना खोला र खोल्सामा पानीको बहाव बढिहेको हुँदा बाढी र डुबानको जोखिम बढेको छ । झापामा निरन्तर वर्षा भइरहेको छ । यो क्रम आज दिनभर जारी रहने बताइएको छ ।

जल तथा मौसम विभागले समेत झापाका नदीमा आज बाढी आउनसक्ने चेतावनी दिँदै नदी आसपासमा सतर्कता अपनाउन भनेको छ । सो क्षेत्रमा आज विहानदेखि अत्याधिक वर्षा भइरहेको छ ।

विभागले आज विहान ६ बजे एउटा सतर्कता सूचना जारी गरेको छ । मोवाइलको एसएमएसमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्कताको सूचना पठाइएको छ ।

जसमा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको उल्लेख गर्दै नदी आसपासमासतर्क रहन भनिएको छ ।

विभागले मेची, कनकाई, बिरिङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ ।

मौसम विभागका अनुसार सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलब २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।