काठमाण्डौ । यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

विशेषगरी प्रदेश १ का तराईका जिल्ला, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एक, दुई वर्ष बिराएर वा छिटो छिटो पानी बढी पर्ने क्रम दोहोरिन थालेको उहाँले बताउनुभयो ।

 

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो ।

 

केही दिन अगाडि पनि ठूलो वर्षा भयो । केही वर्षयता अक्टोबर नोभेम्बरको तथ्याङ्क हेर्ने हो भने पश्चिममा धेरै पानी पर्ने गरेको देखिएको छ । यो समयमा पश्चिमी वायु सक्रिय हुने भएकाले पश्चिमी क्षेत्रमा बढी पानी परेको हुन सक्ने मौसमविद् कँडेलले बताउनुभयो ।

 

समग्रमा गएको तीस वर्षको तथ्याङ्कलाई हेर्दा सुक्खा समयमा पानी पर्ने क्रम केही बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलीमिटर पानी पर्नु पर्ने हुन्छ ।

 

यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत वर्षाको दर भएको विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर सुरु नै नहुँदा अर्थात अक्टोबरको २३ तारिखसम्ममै यसपालि २५६।६ मिलीमिटर पानी परेको छ ।

 

१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् । बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ । यसपालिको बर्खामा पनि औसतभन्दा धेरै वर्षा भएको थियो ।

 

आजको मौसमः केहीबेर घाम, केहीबेर फेरि बादल
यसैबीच, आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् ।

 

केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ । आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उहाँले बताउनुभयो ।

 

पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परेको छ ।

 

यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । उज्यालाे अनलाइनबाट