काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

 

महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

 

यसैगरी, दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै, राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

बुधबारदेखि केही ठाउँमा हल्का पानी पर्ने

यसैबीच, पर्सि बुधबारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।

 

राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ । काठमाण्डौमा आज हिजोभन्दा पनि चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस थियो ।