काठमाडौं । आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
यी प्रदेशहरुका पहाडी तथा तराइका केही भूभागहरुमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण मंगलबार साँझबाट नेपालको सुदूरपश्चिम प्रदेशहुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
यो प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने विभागले जनाएको छ ।
शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ । यो मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई, यातायत लगायत दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।