काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु, कुहिरो लागिरहेको छ।

 

बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

बिहीबार भने देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।