हिमपातपछि आइतबार बिहान खुलेको ताप्लेजुङ्को मौसम । तस्वीर: कृष्ण फुरुम्बु लिम्बू

काठमाण्डौ । आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

 

आजदेखि दुई-तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

 

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।

 

यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशााले यस वर्ष माघ महिना नबित्दै सतप्रतिशत हिउँदे वर्षा भइसकेको जनाएको छ । महाशाखाको तथ्याङक अनुसार माघ नबित्दै ५७ दशमलव १ मिलिमिटर हिउँदे वर्षा भइसकेको हो । यो औसत हिउँदे वर्षाको ९९ दशमलव ७ प्रतिशत हो ।

 

महाशाखाले डिसेम्बरदेखि फेबु्रअरीसम्मलाई हिउँद मौसम मानेर औसतमा ६० दशमलव ९ मिलिमिटर वर्षा हुने जनाएको छ ।

 

तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।

 

गत वर्ष हिउँदमा १५ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यसवर्ष भने अझै हिउँद मौसम बाँकी नै रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय प्रतिशत बढी वर्षा हुने आँकलन गरिएको प्रमुख कँडेलले बताउनुभयो ।

 

गत वर्ष भन्दा यसवर्ष धेरै वर्षा भए पनि यो नौलो विषय भने नभएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्याङक अनुसार २०६४ देखि पछाडि २०७५ र २०७६ सालमा धेरै हिउँदे वर्षा भएको थियो । २०७५ सालमा १०५ मिलिमिटर र २०७६ सालमा १४२ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो ।

 

पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण विहीबार रातिदेखि देशभर वर्षा भएको थियो । महाशाखाका अनुसार मौसम आइतबारदेखि सुधार हुनेछ ।