काठमाडौं । ‘कबड्डी’ श्रृंखलाको नयाँ फिल्म ‘मास्टर बमकाजी’ निर्माण घोषणा भएको छ । ‘कबड्डी ४’को क्रेडिट लाइनमार्फत फिल्मको नयाँ श्रृंखलाबारे खुलासा भएको हो ।

 

प्रिमियरपछि निर्देशक रामबाबु गुरुङले ‘मास्टर बमकाजी’लाई फिल्मको पहिलो ‘स्पिन अफ’ भएको बताए । दृश्यभाषामा स्पिन अफ भनेको कथाको परिवेशलाई कायमै राखेर खास पात्रमा आधारित फिल्म बनाउनु हो ।

 

स्पिन अफलाई फिल्म समीक्षक सिक्वेलभित्रको सिक्वेल बताउँछन् । ‘स्पिन अफ’को यो मोडेललाई हलिउड स्टुडियो मार्भल र डिज्नेले पछ्याइरहेका छन् । अहिले निर्माण भइरहेका मार्भल सिनेम्याटिक युनिभर्स त्यही स्पिन अफको उदाहरण हो ।

 

‘कबड्डी’ श्रृंखलाको मुख्य पात्र बमकाजीमा केन्द्रित रहेर ‘मिस्टर बमकाजी’ बन्न लागेको हो । तर, यसलाई ‘कबड्डी ५’ पनि भन्न सकिन्छ । ‘कबड्डी’मा बमकाजीको भूमिका सौगात मल्लले निर्वाह गरिरहेका छन् ।

 

‘बमकाजीमा काजी (दयाहाङ) हुने छैनन् । केही समयसम्म काजी र बमकाजीबीच भेट हुनेछैन । तर, कुनै बिन्दुमा पुगेर यी दुईबीच पुनः भेट हुनेछ,’ कबड्डीको नयाँ स्पिन अफबारे निर्देशक गुरुङले भने ।

 

एउटा स्पष्ट तथ्य के हो भने ‘मास्टर बमकाजी’मा दयाहाङ हुने छैनन् भने सौगात लिड रोलमा हुनेछन्, तर फिल्मको सेटिङ (परिवेश) ‘कबड्डी’ नै हुनेछ । व्यावसायिक दृष्टिकोण राखेर कबड्डी निर्माता स्पिन अफ मोडेलतर्फ अघि बढेको अनुमान गरिएको छ । यसको संकेत निर्देशक गुरुङले एक अन्तर्वार्तामा पनि गरिसकेका थिए ।