काठमाडौँ । यसवर्ष एक साताअघि नेपालमा मनसुन भित्रिएको छ । नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भूभागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि-मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि-मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।

 

मार्च, अप्रिल र मे प्रि-मनसुन हुने महिना हुन् । यस पटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलोगरी प्रि–मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिने संकेत देखिएको विभागले जनाएको छ ।

 

विज्ञहरूका अनुसार बंगालको खाडी नजिकको निकोबार र एन्डमान टापु ९भारतीय भाग० मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु भएको बताएका हुन् ।

 

मौसमविद् इन्दिरा कँडेलका अनुसार गत वर्षहरूमा ती स्थानमा २२ मेमा मात्र मनसुनी गतिविधि सुरु हुन्थ्यो, त्यो हिसाबले नेपालमा जुन दोस्रो सातादेखि मात्र मनसुन प्रवेश गर्थ्यो । ‘निकोबार र एन्डमानमा सोमबारदेखि सुरु भएको गतिविधिले यो पटक जुन पहिलो साता नै मनसुन भित्रिने संकेत छ,’ कँडेलले भनिन् । इकान्तिपुरबाट