शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८०को लागि अनुमानित ७४ करोड एक लाख ५३ हजार दुई सय तीस रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम शुक्रबारदेखि सुरु भएको ११औं नगर सभामा पेश गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।

 

अर्जुनधारा ८ स्थित सामुदायिक भवनको सभाहलमा नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा उपसमितिकी संयोजक खड्गमाया पराजुलीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

 

प्रस्तुत बजेटको आयतर्फ नेपाल सरकार वित्तीय समानिकरणमा १९ करोड ११ लाख रुपैयाँ, राजश्व बाँडफाँडमा १२ करोड ४५ लाख १२ हजार रुपैयाँ, सशर्त अनुदानमा २७ करोड ४१ लाख रुपैयाँ, विशेष अनुदानमा दुई करोड १० लाख रुपैयाँ, समपूरक अनुदानमा ८० लाख रुपैयाँ र मालपोत रजिष्ट्रेसन बाँडफाँडमा तीन करोड रुपैयाँ उल्लेख गरिएको छ ।

 

त्यसैगरी प्रदेश सरकार वित्तीय समानिकरणमा एक करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड (सवारी)मा एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, सशर्त अनुदानमा एक लाख २३ हजार रुपैयाँ र समपूरक अनुदानमा एक करोड रुपैयाँ तथा आन्तरिक आयमा पाँच करोड ५० लाख रुपैयाँ उल्लेख गरिएको छ ।

 

त्यस्तै बजेटको व्ययतर्फ प्रशासनिक खर्चमा १५ करोड रुपैयाँ, सशर्त कार्यक्रम (नेपाल सरकार)मा २७ करोड ४१ लाख रुपैयाँ, सशर्त कार्यक्रम (प्रदेश सरकार)मा एक लाख २३ हजार रुपैयाँ, विशेष अनुदानबाट सञ्चालन हुने कार्यक्रम (नेपाल सरकार)मा दुई करोड १० लाख रुपैयाँ, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम (नेपाल सरकार)मा ८० लाख रुपैयाँ, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम (प्रदेश सरकार)मा एक करोड रुपैयाँ उल्लेख गरिएको छ ।

 

यता वित्तीय व्यवस्थामा ४० लाख रुपैयाँ, आर्थिक विकासमा एक करोड ५० लाख रुपैयाँ, पूर्वाधार विकासमा पाँच करोड पाँच लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा एक करोड २५ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ, सामाजिक विकासमा चार करोड ४९ लाख ३० हजार दुई सय ३० रुपैयाँ, समपूरक कोषमा दुई करोड रुपैयाँ, साझेदारी कोषमा एक करोड रुपैयाँ, वडास्तरीय कार्यक्रममा ११ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सञ्चालन गरेको उक्त सभामा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमसँगै ‘अर्जुनधारा नगरपालिकाको विनियोजन विधेयक, २०७९’ पेश गरिएको थियो । प्रमुख गोम्देनका सचिवालयले दिएको जानकारी अनुसार सभाको अर्को बैठक यही असार १६ गते तोकिएको छ ।