काठमाडौं । यस पटकको हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले भने भोलि बिहीबारदेखि हिउँदे वर्षाको सम्भावना रहेको बताएको छ ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बिहीबार वर्षा हुन सुरू हुने र क्रमशः पूर्वतर्फ सर्ने महाशाखाको अनुमान छ । वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात पनि हुने छ ।

 

केही दिनयता नेपालमा न्युन चापीय वायु प्रणाली सक्रिय भएको र त्यसकै प्रभाव स्वरुप मौसम बदली भई हुस्सु तथा बादल लागेको महाशाखाको भनाइ छ । बुधबार पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको छ ।

 

महाशाखाका अनुसार बुधबार प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ । राति कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने भन्दै महाशाखाले सतर्ककता अपनाउन भनेको छ ।