भद्रपुर । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सयभन्दा बढी सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ ।
विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुनेगरी नगर प्रमुखसँग स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत नगरपालिकाले यसवर्ष ६३४ परिवारको स्वास्थ्य विमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसबाट सो समुदायका २ हजार ५२२ जना लाभान्वित हुनेछन् ।
सन्थाल समुदायलाई स्वास्थ्य विमा गरिदिएको विमा भुक्तानीवापतको रकमबराबरको चेक सोमबार नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
सन्थाल समुदायको स्वास्थ्य विमाका लागि नगरपालिकाले २२ लाख १९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मू, झापा जिल्ला अध्यक्ष लखन हेमरमलगायत सो समुदायका अगुवाहरुको उपस्थिति थियो ।
नगरप्रमुख पोखरेलले नगरपालिकाले गरिदिएको स्वास्थ्य विमाको समुचित उपयोग गर्न वीमितहरुलाई आग्रह गर्दै सन्थाल समुदायको उत्थान, संरक्षण र विकासका लागि नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उपप्रमुख राधा कार्कीले सन्थाल समुदायमा अझै पनि रोग लुकाएर बस्ने, स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसक्ने अवस्था रहिरहेकाले सो समुदायका अगुवाहरुले समुदायमा स्वास्थ्य सचेतना बढाउनुपर्ने उल्लेख गर्दै नगरपालिकाले गरिदिएको स्वास्थ्य विमाबाट प्राप्त हुने सविधा उपयोग गर्न आग्रह गरिन् ।