शनिश्चरे । मानव स्वास्थ्य स्वस्थ राख्नका लागि पशुपंक्षी र वरिपरिको वातावरण पनि स्वस्थ हुनुपर्नेमा जोड दिइएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले आयोजना गरेको एकदिने वन हेल्थ एप्रोच अन्तरक्रिया कार्यक्रममा त्यस्तो जोड दिइएको हो ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा नगर आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा पशुपति ढुंगानाले घरपालुवा पशुपंक्षीबाट ६० प्रतिशत र जंगली जनावरबाट ७५ प्रतिशत मानिसमा रोग सर्ने जानकारी दिए ।
उनका अनुसार लेप्टोस्पाइरोसिस भन्ने रोग मुसा, कुकुर र गाईको पिसाबबाट सर्ने बताउँदै उनले यसबाट मानिसको मिर्गौला नष्ट हुने गरेको बताए । घरपालुवा पशुपंक्षीलाई दिइने आहारा ध्यान पुराउन सके मानव र पशुपंक्षी दुवै स्वस्थ रहन सकिने पनि उनको भनाइ थियो ।
पशुपंक्षीमा हुने विभिन्न रोग, त्यसको निदान, परीक्षण, प्रयोगशाला र औषधिको प्रयोगका विषयमा जानकारी दिँदै उनले थुनेलोको उपचारमा प्रयोग गरिने औषधिले मानव स्वास्थ्यमा सिधै असर गरिरहेको पनि सुनाए ।
कार्यक्रममा जनप्रतिनिधि, कृषक समूहका प्रतिनिधि, सहकारीका प्रतिनिधि, भेटेनरी प्राविधिक, कर्मचारीलगायत ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । समितिका सदस्य टुम्मनाथ काफ्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख पदमलाल राईले गरेका थिए ।