झापा । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

 

बिहीबार बिहान हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

साथै, देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी, बागमती तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।