झापा । लोकसेवा तयारी किताबमा महिलालाई ‘भा…’ भनिएपछि लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि अहिले सामाजिक सञ्जालमा आक्रोस व्यक्त भइरहेको छ ।

 

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले लेखेको पुस्तकमा यस्तो समस्या देखिएको हो । विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर समावेश छ।

 

उक्त पुस्तकको पेज नम्बर १४३ को प्रश्न नं. १८ मा चार वटा विकल्पसहित केटीलाई ‘भा…’ किन भनिएको होला भन्ने प्रश्न छ । विकल्पमा ‘पोथी भालु जस्तै व्यवहार भएर, पोथी भालुले एक पल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, पोथी भालु बहुपतिगामी हुन्छ र माथि सबै’ भनेर लेखिएको छ ।

 

यो प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनलाई सरकारी सेवाबाट निश्कासन गरेर कारबाही गर्न पनि माग गरिएको छ । तर, लेखकले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।