शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित अन्तरमावि भलिबल प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल र लक्ष्मी मावि ‘बी’ फाइनलमा प्रवेश गरेका छन् ।
अर्जुनधारा ६ स्थित लक्ष्मी माविको मैदानमा भएको प्रतियोगितामा रुपरत्नले सेमिफाइनलमा शनिश्चरे माविलाई २५-१६, २०-२५ र १५-०७ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसैगरी, लक्ष्मी मावि ‘बी’ ले जनता मावि खुदुनाबारीलाई २५-१९, २५-११ र १५-१३ को साँघुरो सेटमा पराजित गरेर रुपरत्नसँग फाइनलमा भेट पक्का गरेको हो ।
यसअघि भएको क्वाटरफाइनल खेलमा रुपरत्नले लक्ष्मी माविको ‘ए’ टिमलाई पराजित गरेको थियो भने लक्ष्मी मावि ‘बी’ टिमले देवभूमिलाई पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल भोलि असोज ५ गते बिहान ८ बजे हुने आयोजकले जनाएको छ । फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेता टिमले १५ हजारसहित आकर्ष ट्रफी पाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।
उनका अनुसार फाइनल खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद १ हजार १११ सहित ट्रफी पाउँदा सर्वोत्कृष्ट खेलाडीले १ हजार ५५५ रुपैयाँ पाउने छ ।
प्रतियोगिताको बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेन्सले जनही १ हजार ५ रुपैयाँ पाउने छन् । प्रतियोगितामा अर्जुनधाराका १४ वटा माविका १५ टिमको सहभागिता रहेको थियो ।