इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टामा आयोजना हुने भनिएको प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित भएको छ ।

 

तीन दिनदेखि परेको अविरल वर्षाका कारण खेलमैदानमा जाने बाटाे नै खाेलाले अवरूद्ध गरेका कारण प्रतियोगिता स्थगित गर्नु परेको आयोजकले जनाएको छ । भोलिदेखि प्रतियोगिता सुरु हुने भएको थियो ।

 

तर, आयोजक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । इँटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बूका अनुसार यो प्रतियोगिता कात्तिक २ गतेदेखि ९ गतेसम्म हुने छ ।

 

यसअघि असोज १२ गतेदेखि १९ गतेसम्म प्रतियोगिताको तालिका सार्वजनिक गरिएको थियो । प्रतियोगितामा आयोजक क्लबसँगै सतासीधाम स्पोर्टिङ क्लब, शनिश्चरे एफसी, ह्याप्पी क्लब, डिएफसी, ब्रदर्स युनाइटेड, चात्या सा एफसी र पाहुना टोली गोर्खा ब्वाइज भारतीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १०१ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।