काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ मा आज दुवै सेमिफाइनल खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेश र भुटान भिड्नेछन्।

 

यसैगरी, आजै हुने दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली नेपालले र भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल आज दशरथ रंगशालामा हुनेछ। बंगलादेश र भुटानविरुद्धको पहिलो सेमिफाइनल १ः३० बजे हुनेछ।

 

तर, योभन्दा नेपाली समर्थक अत्यधिक पर्खाइमा रहेको खेल भने नेपाल र भारतकै हो। यो खेल साँझ ६ः३० बजे हुनेछ। भारत र नेपाल कुनै नयाँ प्रतिद्वन्दी होइनन्। अझ यी दुई टोली पहिलोपल्ट सेमिफाइनलमा पनि भिड्न लागेका होइनन्। पाँचपल्ट उपाधि भिडन्तमा भिडेका यी दुई टोलीको यो तेस्रो सेमिफाइनल भेट हो।

 

गत संस्करणमा भारतलाई पहिलोपल्ट उपाधि विमुख गराउँदै फाइनलमा पुगेको नेपालले साफ च्याम्पियनसिपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पाँच पटकको उपविजेता नेपाल आयोजक राष्ट्र हो भने घरेलु मैदानमा समर्थकको कमी हुने छैन ।