
शनिश्चरे । हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२५ मा प्रतिष्पर्धी झापा अर्जुनधारा १ की दीपशिखा नेपाललाई विजयी बनाउन यहाँका स्थानीयले अभियान सुरु गरेका छन् ।
प्रतियोगिताको कुल १०० प्रतिशतमध्ये १० प्रतिशत भोट सामाजिक सञ्जालको लाइक, कमेन्ट र शेयरलाई मान्यता दिइने प्रावधान छ । यसका अतिरिक्त एसएमएस भोटिङमार्फत मन परेको प्रतियोगीलाई चयन गर्न सकिन्छ ।
स्थानीयले एसएमएस भोटिङ गर्न, मिस नेपालको आधिकारिक फेसबुक, टिकटक तथा इन्स्टाग्राममा गएर प्रतियोगी ७ नम्बर रहेकी दीपशिखाको पेजमा लाइक, कमेन्ट र शेयर गरिदिन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालका विभिन्न माध्यम, ब्यानर, समुदायमा आधारित प्रचारमार्फत् स्थानीय क्लब, टोल विकास समिति, संघसंस्थाहरुसँग समन्वय गरि कार्यक्रम गरिरहेको अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
अर्जुनधाराको सिंहदेवी मावि, बुद्वशान्तिको ज्योति माविमा प्राथमिक शिक्षा लिएकी उनले अर्जुनधाराकै रुपरत्न बोर्डिङ स्कुलबाट एसइइ उत्तीर्ण गरेकी थिइन् । दीपशिखाले बिर्तामोडको देवी माविबाट १२ कक्षा सकाएपछि काठमाडौको त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेकी छन् । उनी हाल जलवायु परिवर्तन अनुसन्धानकर्ताको रुपमा काम गरिरहेकी छन् ।
युवा अभियान्ताको रुपमा उनी जलवायु न्याय र बाल अधिकारको क्षेत्रमा सेभ द चिल्ड्रेन र नेप्लिज युथ फर क्लाइमेट एक्सन जस्ता सस्थासँग काम गर्दै युवा र महिलाले नेतृत्व गरिरहेको परियोजनाहरु सञ्चालन गरिरहेकी छन् ।
दीपशिखा अहिले युथ इन्नोभेसन ल्यावमार्फत जलवायु परिवर्तनका कारण हुने क्षति तथा हानी र विपद् जोखिम सञ्चारसम्बन्धी अनुसन्धानरत परियोजनाहरुको नेतृत्व गरिरहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए । विश्व नै अहिले जलवायु संकटसँग जुधिरहेको समयमा नेपाली समुदायमा यसबारे सचेतना फैलाउन उनी सक्रिय रहेको बस्नेत बताउँछन् ।
बस्नेतले आइतबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर बहुमुखी प्रतिभाको धनी दीपशिखालाई विजयी बनाउन सम्पूर्ण झापाबासीसँग आग्रह गरेका छन् । उनले अर्जुनधाराको गहनाका रुपमा मिस नेपालजस्तो महत्वपूर्ण प्रतियोगिताको फाइनल स्पर्धामा दीपशिखा पुग्न सफल भएको भन्दै झापाबासीले उनलाई सम्मान गरेर भोट गरिदिने विश्वास व्यक्त गरेका छन् ।