जोरपोखरी । आयोजक फिदिम भेट्रान्स क्लबलाई पराजित गर्दै झापाको रेडस्टार एफसी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपको उपाधि रक्षा गर्न सफल भएको छ ।
पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा आयोजित उपाधि भिडन्तमा झापाले आयोजकलाई ३-१ गोलअन्तरले रोक्दै उपाधि रक्षा गरेको हो । झापाले भेट्रान्स गोल्डकपको दोस्रो पटक जितेको हो । झापाका लागि खेमराज पोख्रेलले २ र बाबु धिमालले १ गोल गरेका हुन् । आयोेजकका लागि दिनेश गुरुङले सान्त्वना गोल गरे ।
फाइनल खेलको प्लेयर अफ दी म्याच झापाका गोलरक्षक मिन बस्नेत घोषित भए । उनले यससँगै बेस्ट किपरको उपाधि पनि जिते । गोल्डकपको सर्वोत्कृष्ट खेलाडी आयोजकका कप्तान बुद्ध चेम्जोङ भए ।
अन्य विधागत पुरस्कारमा भने झापाली खेलाडीको बर्चश्व रह्यो । सर्वाधिक ७ गोल गरेका खेम पोख्रेल, बेस्ट मिडफिल्डर कप्तान भुपेन लिम्बू, बेस्ट डिफेन्स बिष्णु सुनार र बेस्ट कोच प्रेमकृष्ण श्रेष्ठ भए । उनीहरुले जनही २ हजार ५ सय प्राप्त गरे ।
च्याम्पियन बनेको झापाले नगद १ लाख २५ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेता फिदिम भेट्रान्सले नगद ७५ हजारमा चित्त बुझाएको छ । दोस्रो संस्करणमा पनि झापाले आयोजक फिदिमलाई नै फाइनलमा पराजित गरेको थियो ।
फिदिम भेट्रान्स क्लबले आयोजना गरेको गोल्डकपमा डा. देउमान लिम्बूलाई विशेष सम्मान गरिएको थियो । गोल्डकपमा ८ टोलीको सहभागिता रहेको थियो ।