झापा, अर्जुनधारा। इन्डो-नेपाल यू-१३ टी-२० क्रिकेट प्रतियोगितामा बोस्टन क्रिकेट एकाडेमीले लगातार दोस्रो जित दर्ता गरेको छ। समूह ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा बोस्टनले सरस्वती क्रिकेट क्लबलाई ३४ रनले पराजित गर्दै उत्कृष्ट लय कायम राखेको हो।

 

अर्जुनधारा-९ स्थित नमुना खेल मैदानमा भएको खेलमा बोस्टनले दिएको १४४ रनको लक्ष्य पछ्याएको सरस्वती १७ दशमलव ३ ओभरमा १२८ रनमै समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

 

बोस्टनका लागि आध्वीक बास्तोलाले उत्कृष्ट प्रदर्शन गर्दै ७८ रनको योगदान दिए। उनले ६६ बलमा संयमित इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए। टोलीका लागि राघव भट्टराईले ११ तथा बेन्सन पोखरेलले ९ रन जोडे।

 

बलिङतर्फ सरस्वतीका अनुराग आचार्य र स्पर्श चौहानले समान २-२ विकेट लिए भने अन्जिल आचार्यले १ विकेट लिए। जवाफी ब्याटिङमा सरस्वतीका निजाल राईले २५ रन बनाउँदा समीर बुढाथोकीले २१ र आरव श्रेष्ठले १४ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

 

बोस्टनका लागि बलिङमा पनि आध्वीक बास्तोला ले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। युधिष्ठिर कार्कीले २ तथा बेन्सन पोखरेलले १ विकेट लिए।

 

ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका आध्वीक बास्तोला उत्कृष्ट खेलाडी घोषित भए। उनले ७८ रन बनाउनुका साथै ३ विकेट लिएका थिए । उनले नगद १ हजार र ट्रफी पुरस्कार हात पारे।

 

यस जितसँगै बोस्टन क्रिकेट एकेडेमीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै समूह ‘ए’ मा बलियो उपस्थिति जनाएको छ। प्रतियोगितामा नेपालका ८ तथा भारतका २ गरी कुल १० टोली सहभागी छन्। प्रतियोगिता अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा बोस्टनको सह-आयोजनामा सञ्चालन भइरहेको छ।