अर्जुनधारा (झापा) । इन्डो-नेपाल यू-१३ च्याम्पियन्स कपअन्तर्गत आइतबार सम्पन्न समूह ‘ए’को खेलमा हिमाली माबि क्रिकेट एकाडेमी दमकले आस्था क्रिकेट एकाडेमीलाई ६४ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
अर्जुनधारामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको हिमालीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। टोलीका लागि प्रिन्स गुरागाईंले ३२ रनको योगदान दिए भने प्रज्वल दुलाल र नयन लिम्बूले समान १३-१३ रन जोडे।
आस्था क्रिकेट एकाडेमीका लागि बलिङतर्फ लोमस तिम्सिनाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रुबिन भण्डारीले १ तथा चाबिलाल घिमिरेले १ विकेट लिए।
११९ रनको लक्ष्य पछ्याएको आस्था क्रिकेट एकाडेमी ९।२ ओभरमै सबै विकेट गुमाउँदै ५४ रनमा समेटियो। टोलीका लागि लोमस तिम्सिनाले २५ रन बनाए भने युनिक गौतमले २१ र रुबिन भण्डारीले १४ रनको योगदान दिए।
हिमालीका बलरहरूले कसिलो प्रदर्शन गर्दै आस्थालाई दबाबमा राखेका थिए। कश्यप खनालले ३ विकेट लिए भने प्रिन्स गुरागाईं र सोहन खतिवडाले समान २-२ विकेट हात पारे।
अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका कश्यप खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ७८ रन बनाउनुका साथै ३ विकेट लिएका थिए। यो जितसँगै हिमालीले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।