फुङलिङ । ताप्लेजुङ जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता ताप्लेजुङ गोल्डकप शुक्रबारदेखि सुरु हुँदैछ । चौथो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यस संस्करणमा भारतको एक टोलीसहित नेपालका प्रतिष्ठित ८ क्लबहरुले सहभागिता जनाएका छन् । च्याम्पियन बन्ने टोलीले नगद ७ लाख २ हजार ८३ सहित आकर्षक ट्रफी पाउँदा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
यस पटक दर्शकलाई भाग्यशाली उपहारको व्यवस्था गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताएका छन् । उनका अनुसार क्वाटरफाइनलदेखि फाइनल खेलसम्ममा काटिएका टिकटबाट गोलाप्रथाबाट एक थान स्कुटर प्रदान गरिने भएको छ । यसैगरी, दैनिकजसो भाग्यशाली दर्शकलाई इन्डक्सन चुल्हो र थर्मसको पनि व्यवस्था गरिएको छ ।
यस्तै, मस्ट भ्यालुएवल प्लेयर बन्ने खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउने छ भने अन्य विधागत पुरस्कारको व्यवस्था गरिएको समितिका कोषाध्यक्ष दावा लामाले बताए । उनका अनुसार प्लेयर अफ दी म्याच बन्ने खेलाडीले ७ हजारबराबरको अलैँची प्रदान गरिने छ ।
यसवर्ष करिब ८ हजार दर्शक क्षमताको बाँसको प्यारापिट पनि निर्माण भइसकेको छ । भदौ १९ गते फाइनल हुने प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।