विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला (ल्याब)का दुई जना प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र जनरल ल्याबका प्राविधिक कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
प्राविधिकमा कोरोना देखिएपछि स्वाबको पीसीआर परीक्षणमा समस्या भएको छ । पीसीआरका एक र जनरल प्रयोगशालाका एक जना प्राविधिक कर्मचारीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले बताए ।
प्राविधिक कर्मचारीमा बुधबार साँझ कोरोना देखिएपछि अस्पतालको पीसीआर परीक्षण प्रभावित बनेको छ । दासका अनुसार अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनको रिएजेन्ट किट नहुँदा र कर्मचारीमा संक्रमण देखिएका कारण पीसीआर जाँच प्रभावित भएको हो ।
अस्पतालको पीसीआर ल्याबमा १० जना प्राविधिक कर्मचारी थिए । एक जनामा संक्रमण देखिएपछि अहिले नौ जनाले काम गर्नु परिरहेको छ । सहकर्मीमा कोरोना पुष्टि भएपछि अरुले सावधानी अपनाएर काम गरिरहेका छन् । अति आवश्यक भएकाले पीसीआर परीक्षणको काम भने दुःखका साथ सञ्चालन गर्नु परेको डा। दासको भनाइ छ ।
अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि पुग्ने बिरामीको ल्याब परीक्षण हुँदै आएको जनरल प्रयोगशाला भने बन्द गरिएको छ । संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि इमरजेन्सी ल्याब खुला राखेर जनरल प्रयोगशाला दुई दिनका लागि बन्द गरिएको जानकारी दासले दिए ।
हालसम्म कोशी अस्पतालका ३० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २४ जना कोरोना मुक्त भइसकेका छन् । छ जना उपचाररत रहेको जानकारी दासले दिए ।