झापा । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८७३ पुगेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारमा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७१ हजार छ ।
कोरोना संक्रमणको सूचीको पहिलो नम्बरमा रहेको अमेरिकामा ७५ लाख ४९ हजार कोरोना संक्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण सूचीको दोस्रो स्थानमा रहेको भारतमा अमेरिका भन्दा करिब ११ लाख कम कोरोना संक्रमित छन् ।
संक्रमितको संख्याका आधारमा तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ४८ लाख ८२ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका थिए । संक्रमित मध्ये १ लाख ४५ हजारको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख १७ हजार ६१० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ३३८ कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये १० लाख ३२ हजारको मृत्यु भएको छ । एजेन्सी