काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आर्थिक नियमावली र कार्यविधि जारी गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरी एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नियमावली र कार्यविधि जारी भएको बताए । निर्वाचनका बेला आर्थिक पारदर्शितालाई मुख्य एजेण्डा बनाएको कर्माछिरिङ शेर्पाको नेतृत्वले ढिलो भएपनि नियमावली लागु गरेको हो । गत साउनमा चितवनमा सम्पन्न विशेष साधारण सभाले आर्थिक नियमावलीलाई अनुमोदन गरेको थियो ।
उक्त नियमावली र कार्यविधि चैत ९ गते विराटनगरमा सम्पन्न साधारण सभाबाट लागु भएको अध्यक्ष शेर्पाले बताए । जारी नियमावली र कार्यविधिमा एन्फाको बजेट, खेलाडी भत्ता, पदाधिकारी भत्ता, खरिद तथा बिक्रि, जिन्सी रेकर्ड र फिफा र एएफसीबाट आएको अनुदानहरु कसरी कार्यान्वयन गर्ने भन्ने विषय समेटिएको छ ।
खेलाडीको भत्तावृद्धि गरिएको छ । यसअघि २० डलर रहेकोमा अब ३५ डलर उपलब्ध गराइनेछ । राष्ट्रिय टिम वा विभिन्न उमेर समूहको टिमको प्रशिक्षणको लागी संघबाट खटाइएका प्रमुख प्रशिक्षकलाई दैनिक १२ सय रुपैयाँ, सहायक प्रशिक्षकहरुलाई ८ सय रुपैयाँ दिने कार्यविधिमा समेटिएको छ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रेफ्रीलाई प्रत्येक खेलमा १० हजार, शहिद स्मारक बी डिभिजन लिगमा प्रत्येक खेलका चार जना रेफ्रीलाई ६ हजार र सी डिभिजन लिगमा ४ हजार उपलब्ध गराउने उल्लेख छ । महिला फुटबलमा रेफ्रीलाई ६ हजार रुपैयाँ उपलब्ध गराउने एन्फाले जनाएको छ ।