काठमाडौँ । काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकीले सर्वाधिक मत पाए ।
निर्वाचन परिणामअनुसार कांग्रेस सदस्यमा बुढाथोकीले सर्वाधिक २११५ मत पाउँदा गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् ।
खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।
पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना हिजो सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् ।
धेरैजसो पुरानै अनुहार दोहोरिँदा पनि केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार अटाएका छन् । १३५ सदस्यीय वर्तमान केन्द्रीय समितिमध्ये ७९ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।