काठमाडौँ । स्थानीय तह निर्वाचनको आचारसंहिताविपरीत गतिविधि गर्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि गरेको, तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।

 

प्रदेश १ मा ३, मधेस प्रदेशमा ४, वाग्मतीमा २१, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा ३ र सदूरपश्चिमबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आचार संहिताविपरीत देशभर ३६ वटा घटना भएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै, आचार संहिताविपरीत वितरण गर्न लागिएको मासु, पैसा समेत बरामद गरेको छ । मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लागिएको रकमसमेत प्रहरीले बरामद गरेको छ । जसमा लुम्बिनी प्रदेशबाट ६ हजार रुपैयाँ नगद, कर्णालीबाट १ लाख १० हजार र सदूरपश्चिमाबाट ८ हजार १ सय रूपैयाँ नगद बरामद गरेको हो ।

 

प्रहरीका अनुसार मौन अवधि सुरु भएदेखि २९ गतेसम्म ८ वटा सवारीसाधान तोडफोड भएका छन् । दुई पक्षबीच झडप हुँदा ५० जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले कर्णाली प्रदेशमा आचारसंहिताविपरीत २५ केजीको ८० बोरा चामल, ७ कार्टुन बियर‚ १० कार्टुन सफ्ट पेयपदार्थ, ५० केजी मैदा, २ कार्टुन डाइमन्ड रक्सी, १५ कार्टुन लिची रक्सीसमेत बरामद गरेको छ । शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । इकान्तिपुरबाट