अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बुधबार पदभार ग्रहण गरेका छन् । सामूहिकरुपमा शपथ लिएपछि आ-आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । यस नगरमा मेयर, उपमेयर, ४ वडाध्यक्षसहित ४५ जना नेकपा एमालेका उम्मेद्वार तथा ७ वडाध्यक्षसहित १२ जना गठबन्धनका उम्मेद्वार निर्वाचित भएका थिए ।
अर्जुनधारा ७ स्थित पितृ भवनमा आयोजित एक कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देनले उपप्रमुख खड्गमाया पराजुलीलाई सुरुमा शपथ ग्रहण गराएका थिए । त्यसपछि ११ वटै वडाका अध्यक्ष, २२ जना खुल्ला सदस्य, ११ जना महिला सदस्य र ११ जना दलित महिला सदस्यले सपथ ग्रहण गरेका थिए ।
गत जेठ ९ गते मुख्य निर्वाचन अधिकृत एवम् झापा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमबाट शपथ ग्रहण गरेका प्रमुख तामाङले उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गोम्देनले नगरमा रहेका अन्य दलहरुलाई प्रतिपक्षमा भएको अनुभूति गर्न नदिने गरि कार्यहरु गरिने बताए । नगरमा योजनाबद्ध, सामूहिक र सहभागितामूलक विकासका लागि आफूहरुले नगर योजना आयोग र सल्लाहकार परिषद्को कुरालाई पनि उठाएको उनले जानकारी दिए ।
त्यस्तै अर्जुनधारा नगरपालिका भएर बग्ने नदीहरुमा तटबन्धन, खेतीयोग्य जमिनको लागि आवश्यक सिँचाई र बाइपास सडक निर्माण गर्न प्रदेश र संघमा जुनसुकै दलको सरकार भए पनि आफूले सामूहिकरुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख तामाङको अध्यक्षता र संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश नं।१का सांसद् वृख प्रधान, निवर्तमान प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा आचार्य, नेकपा एमालेका नगर इञ्चार्ज दिपेन्द्र लम्साल, नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष अर्जुन मेचेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित उपप्रमुख खड्गमाया पराजुलीले धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख हिमराज सेढाईंले गरेका थिए ।