बिर्तामोड । झापा क्षेत्र नम्बर २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७/०७८ बाट पुष्टि भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविष्य निर्माण गर्नसक्ने बताएका छन् ।

 

झापा क्षेत्र नं २ (१) को लोकतान्तिक बाम गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार समितिको आइतबार (आज) बिर्तामोडमा कार्यालय उद्घाटन गर्दै नेता रानाले कांग्रेस, माओवादी, नेकपा एसलगायतका दलका शीर्ष नेताहरुले हिम्मत र साहस गरेर चालेको कमद स्वागतयोग्य रहेको बताए ।

 

नेता रानाले देशलाई उन्नति, प्रगतिको पथमा लानका लागि एकदलीय शासनले नसक्ने जिकिर गर्दै लोकतान्तिक बाम–गठबन्धनले मात्र त्यो सम्भव हुने बताए । गठबन्धन दलहरुले चालेको कदमले नै जीत हासिल गरेको बताउँदै परिणाममात्र पर्खिएको बताए । ‘एकता नै बल हो’ नेता रानाले भने ‘देशमा प्रजातन्त्र ल्याउनका सबै दलको एकता भएर मात्र सम्भव भएको थियो ।’

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वारको चुनावी प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलको अगाडि कार्यालय सञ्चालन गरिएको हो ।

 

निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य (१) का उम्मेद्वार पुष्पराज पोखरेल, निर्वाचन परिचालन समितिका सह-संयोजक मोहन सुब्वा, श्रीप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए ।