शनिश्चरे । प्रतिनिधिसभाकाे निर्वाचन परिणाममा अग्रता बनाइरहेकाे नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभामा पनि अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार १ र २ दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम राखेका हुन् ।

 

क्षेत्र नम्बर २ का निर्वाचन कार्यालयले पछिल्लो समय मंगलबार साँझ ६ः१५ बजे घोषणा गरेको मत परिणामअनुसार प्रदेश १ मा एमालेका उम्मेद्वार एकराज कार्की १० हजार ८७२ मत ल्याएर अगाडि छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ३ हजार ५३४ मत ल्याउँदै दोस्रो स्थानमा छन् ।

 

यस्तै, तेस्रो स्थानमा हाम्रो नेपाल पार्टीका भक्तबहादुर भुजेल (लौरो)ले २ हजार १६१ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् । अहिलेसम्म २२ हजार ५६७ मत गणना भइसकेको छ भने १ हजार ९१३ मत बदर भएको छ ।

 

यसैगरी, प्रदेश २ (१) मा पनि नेकपा एमालेका उम्मेद्वार चिन्तन पाठक अग्रस्थानमा छन् । उनले ७ हजार २३९ मत ल्याएर अघि छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र मैनालीले ५ हजार ४७३ मत पाएका छन् ।

 

तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार अनिरुद्र तिम्सिना (जेब्रा)ले १ हजार २३० मत ल्याएका छन् । यस क्षेत्रमा १७ हजार १३१ मत गणना हुँदा ९५३ मत बदर रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

झापा २ को प्रतिनिधिसभा निर्वाचनतर्फ पनि नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे अगाडि नै छन् । उनले १३ हजार ५४ मत पाउँदा स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले ११ हजार ९८३ मत ल्याउँदै पछ्याइरहेका छन् ।

 

गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले ६ हजार ८ सय मत ल्याएर तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ३ हजार ८७९ मत ल्याएर चौथो स्थान बनाएका छन् ।

 

अहिलेसम्म ३९ हजार ६५० मत गणना भइसक्दा २ हजार ४०१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।