झापा (एजेन्सी) । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।
पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् । खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए ।
उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् । खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए । २३ वर्षीय एमबाप्पेको यो ९ औं विश्वकप गोल हो ।
एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् । एमबाप्पेले दुई विश्वकपमा ९ गोल गरेका हुन् ।
त्यसपछि इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो । फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको हो।
यसैबीच, इंग्ल्यान्ड पनि कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए । अब इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ ।