झापा (एजेन्सी) । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो।

 

पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।

 

यसैबीच, अफ्रिकन राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।

 

मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

 

पेनाल्टीमा मोरक्कोले बाजी मार्यो । पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके । पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।

 

सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए । पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । पूर्व विजेता स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।