झापा (एजेन्सी) । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।
चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।
उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनकी छोरी केलीले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।
पेले फुटबलका सर्वकालीन महान् नायक
पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान पनि जोडिन्छ‚ जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे, १ हजार ३ सय ६३ खेल खेलेर । उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए ।
उनले जहाँ , जति खेल खेलेस त्यहाँ सबैको मनमा रहन सफल रहे । सानोमा साओपाओलोको बारु एफसीबाट खेल्न सुरु गरेका पेले लगत्तै सान्तोससँग आबद्ध भएका थिए ।
जम्माजम्मी १५ वर्षको उमेरमै उनले सिनियर टिमबाट डेब्यु गरिसकेका थिए । सिनियर टिमबाट उनले डेब्यु गरेको दिन थियो, सन् १९५६ सेप्टेम्बर ७ । त्यो कोरिनथिएन्सविरुद्धको खेल थियो । उक्त खेलमा उनले एक गोल पनि गरे ।
त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए ।
पेलेको प्रसिद्धि भने सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराएको थियो । भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए ।
उनको वास्तविक ख्याति भने सन् १९७० को विश्वकपबाट प्राप्त भएको थियो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिल फेरि एकपल्ट च्याम्पियन भयो ।