शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि जापानी टोलीको एक प्रतिनिधि मण्डलले प्रारम्भिक छलफल गरेको छ ।
जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानको तोनो सिटीका मेयर तादा काजुहिकाेसँग भगिनी सम्बन्धका लागि पहल गरेका थिए । पूर्वी जापानको इवाते प्रिफेक्चर (प्रदेश)मा रहेको तोनो सिटीका मेयर काजुहिकाेको प्रतिनिधि मण्डल अर्जुनधारामा आएको हो ।
मेयर काजुहिकाेको प्रतिनिधि कानाको होसाकावा नेतृत्वले अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनलगायत जनप्रतिनिधिसँग बसेर छलफल गरेको थियो । टोलीका सदस्य आशीर्वाद त्रिपाठीले अर्जुनधाराको भूगोल, संस्कार, संस्कृति, वातावरणलगायतका विषयमा जानकारी लिन आएको बताए ।
उनले यस नगरका लागि के गर्न सकिन्छ ? भन्ने तोनो सिटीका मेयर काजुहिकाेको चाहनाबमोजिम अनौपचारिकरुपमा छलफल गरिएको बताए । जापानी प्रविधि र सीपलाई यस नगरमा कसरी स्थापित गर्ने भन्ने बारेमा विशेष चासो रहेको बताइएको छ । टोलीले नगरको कृषि, पर्यटन र सीप विकासका लागि सम्भाव्यता अध्ययन गरेको छ ।
विशेष गरेर कृषि क्षेत्रलाई जोड दिँदै टोलीले सीपमुलक तालिम प्रदान गरेर प्रविधि भित्र्याउने हेतुले अर्जुनधाराका मेयर गोम्देनले अपेक्षा व्यक्त गरे । उनले नगरका थुप्रै आवश्यकता भए पनि कृषिमा आधारित नगर भएकाले स्थानीयको आर्थिक स्तरोन्नति पहिलो प्राथमिकता भएको बताए ।
प्रविधिमैत्री नगर बनाउने ध्येय भए पनि प्रविधि अभाव रहेको बताउँदै उनले प्रविधिले नगर समृद्ध बन्नेमा जोड दिए । प्रविधिबाट किसानले गुणस्तरीय उत्पादन गर्ने र आयआर्जनमा जोडिने मेयर गोम्देनको भनाइ थियो ।
नोभेम्वरमा हुने भ्रमणका लागि व्यवस्थापनका लागि आएको टोलीले नगरमा रहेको पशुपालन, कृषि खेती, जेठा गुम्बालगायत अर्जुनधारा जलेश्वरधाम र सुखानी सहिद स्मृति उद्यानको अवलोकन भ्रमण गरेको थियो ।
छलफलमा संविधानसभा सदस्य प्रेम गिरी, पूर्व राज्यमन्त्री धर्मशीला चापागाई, निवर्तमान मेयर हरिकुमार राना, वडाध्यक्षहरु, शाखा प्रमुखलगायतले आफ्ना भनाइ राखेका थिए ।