झापा । हर्षिता समरविक्रमा र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ।
आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। भारतले यसअघि ७ पटक एसिया कपको उपाधि जितेको थियो ।
एसिसी एसिया कपको पहिलोपटक च्याम्पियन बन्न श्रीलंकाले भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको थियो । श्रीलंकाले २ विकेट गुमाउँदै चुनौतीपूर्ण लक्ष्य भेट्याएको हो ।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाईन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाईन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।
कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टिमलाई च्याम्पियन बनाउने आधार तयार गरे ।
कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाईन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४०बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।