शनिश्चरे । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् ।

 

शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेको सम्यतका बुवा सन्तोष थापाले बताए ।

 

शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१-५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा ९ र थापा वडा नम्बर ६ का हुन् ।

 

तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् ।

 

त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । उनलाई इन्डोनेसियन खेलाडीले उपाधिका लागि रोकेका थिए ।

 

प्रतियोगितामा आज आइतबार झापा अर्जुनधाराका खेलाडी प्रिजन नेम्वाङले २९-३२ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्ने प्रशिक्षक दिपेन दनुवारले जनाए ।