तस्वीरः क्यान

झापा । अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबार सुखद सुरुआत गरेको छ । नेपालले डलासमा भएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको हो । यससँगै तीन खेलको शृंखलामा नेपालले १-० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ ।

 

जितका लागि १६५ रन पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमात्र बनाउन सक्यो । नेपालका सबै बलरले कसिकसाउ बलिङ गरे र अमेरिकी ब्याटरले खुलेर खेल्न सकेनन् । अमेरिकालाई जितसम्म पुग्न १२ बलमा ४९ रन चाहिएको थियो ।

 

पछि अन्तिम ओभरमा जितका लागि ३१ रनको आवश्यकता थियो । यो लगभग असम्भव भन्दा कम थिएन । नेपाली बलरमध्ये दीपेन्द्रले २७ रनमा तीन विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ४९ रनमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

 

नेपालले सुरुआत भने राम्रो गरेको थियो र पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो । दुवै ओपनर अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । छिटोछिटो रन बनाउने क्रममा नेपालले अन्त्यतिर एकपछि अर्को विकेट गुमाएको थियो ।