काठमाडौं। रेखा पौडेलको पाँच गोल र प्रिती राईको ह्याट्रिकसँगै नेपालले साफ महिला च्याम्पियन २०२४ (साफ वुमन्स)को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।

 

आज (सोमबार) भएको खेलमा नेपालले ११-० को जित हासिल गरेको हो। नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २०१६ मा पनि ९-० माल्दिभ्सलाई पराजित गरेको थियोे।

 

यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियोे। नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ।

 

भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्नेछ। यही खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्।

 

यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा सविता रानामगर, अमिशा कार्की र अनिता केसीले समान एक गोल गरिन्। खेलको प्लेयर अफ दी म्याच पाँच गोल गरेकी रेखा पौडेल बनिन् । उनले २५ हजार पाइन् ।