पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् ।

 

मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । माङहिम परिसरमा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो ।

 

यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिटको प्रतिमा ल्याई स्थापना गरिएको हिलिहाङ ६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए । एकै ढुङ्गाबाट बनेको उक्त प्रतिमा वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको वडाध्यक्ष योङहाङले बताए ।

 

प्रतिमा निर्माणमा मात्रै १५ लाख रुपैयाँ खर्च भएको र माङहिममा स्थापित गर्न थप तीन लाख रुपैयाँ लागेको उनको भनाइ छ । स्थानीय ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएको छ ।

 

आत्मा पवित्र गुराँसे माङहिम नौ वर्षदेखि निर्माण भइरहेको छ । वडाध्यक्ष योङहाङका अनुसार २०७३ सालमा भारपा गाविसहुँदै २५ हजारको बजेटबाट माङहिम निर्माण सुरुआत भएको थियो ।

 

माङहिम निर्माण गर्न स्थानीय काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा उपलब्ध गराएको वडाध्यक्ष योङहाङले जानकारी दिए ।