अर्जुनधारा । गरिबी निवारण कार्यक्रमअन्तर्गत झापा अर्जुनधारा वडा नम्बर १ का विपन्न सात घरपरिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

 

हचुमासा सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा नगरपालिकाको साझेदारीमा विपन्न घरपरिवारलाई घर हस्तान्तरण गरिएको हो । घर पाउनेहरुमा जगतबहादुर भुजेल, कृष्ण सेन्च्युरी, ज्ञानबहादुर तामाङ, रुद्रबहादुर राई, गोपाल खड्का, पुष्पा मिश्र र हरिप्रसाद रिजाल रहेका छन् ।

 

उनीहरुलाई आज एक कार्यक्रमका बीच अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन, वन समूहका अध्यक्ष अम्बरबहादुर राई, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतलगायत जनप्रतिधिले घरको तालाचाबी हस्तान्तरण गरे ।

 

नगरपालिका र वन समूहको १०-१० लाख र १ लाख जनसहभागिता तथा २ हजार ८५२ रुपैयाँबराबरको श्रमदानसहित २१ लाख २ हजार ८५२ को सात वटा घर हस्तान्तरण गरिएको हो ।

 

वन समूहका अध्यक्ष राईले नगरपालिकाले अझै साझेदारी गरेकाे खण्डमा थप विपन्न उपभोक्तालाई घर निर्माण गरी हस्तान्तरण गर्न सकिने बताएका छन् । नगर प्रमुख गोम्देनले पनि वन समूहको कामको प्रशंसा गर्दै नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।