धुलाबारी, झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतको उडिसामा हुने चार देशीय फुटबल प्रतियोगितामा नेपालको मिसन भारत नभएको बताएका छन् ।

राष्ट्रिय टोलीलाई झापाको धुलाबारीमा एक कार्यक्रम आयोजना गरी झापा जिल्ला फुटबल संघले विदाई तथा शुभकामना दिने क्रममा प्रशिक्षक खड्काले नेपाली टोलीको मिसन आउँदो साफ च्याम्पियनसीप भएको बताए । नेपाली महिला टोलीले म्यानमार भएको एसियन ओलम्पिक क्वालिफायरमा क्षमता प्रदर्शन गरिसकेको बताएका उनले टोलीमा भएका अन्य गल्ती सुधारेर साफ च्याम्पियनसीपमा भारतलाई पराजित गर्ने एकमात्र लक्ष्य रहेको सुनाए ।

क्वालिफायरको पहिलो चरण पार गरेको नेपालसँगै भारत, म्यानमार, इरान दोस्रो चरणमा प्रवेश गरेको छ । गत बुधबारदेखि झापाको चन्द्रगढीमा बन्द प्रशिक्षणमा रहेको टोली मंगलबार पूर्वी नाकाहुँदै उडिसा प्रस्थान गरेको हो ।

फेब्रुअरी ९ देखि १५ तारीखसम्म हुन गईरहेको चारदेशीय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताअन्तरगत नेपालले आफ्नो पहिलो खेल ९ फेब्रुअरीका दिन म्यानमारसँग खेल्नेछ भने दोस्रो खेल ११ फेब्रुअरीका दिन आयोजक भारतसँग खेल्नेछ । त्यस्तै लिगचरणको अन्तिम खेलमा नेपालले १३ फेब्रुअरीका दिन इरानसँग खेल्ने कार्यक्रम रहेको छ । स्मरणीय छ, अन्तिम समयमा आएर श्रीलंकाले प्रतियोगितामा सहभागिता

नजनाउने भएपछि श्रीलंकाको स्थानमा इरानलाई समावेश गरिएको हो । प्रतियोगितामा सहभागी देशहरुमध्ये नेपाल सबैभन्दा तल्लो वरियताको टोली समेत हो । फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने इरान ६० औं स्थानमा छ । त्यस्तै भारत ६२ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेती, एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, सदस्य पेमा लामा, कमल क्षेत्री, मञ्ज्ु खवासलगायतले जीतको शुभकामना दिएका थिए । फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको अध्यक्षता तथा महासचिव सुन्दर बस्नेतको संचालनमा भएको कार्यक्रममा नेपाली टोलीलाई राष्ट्रिय झण्डा प्रदान गरिएको थियो ।

फोटो : बुद्ध तामाङ