एजेन्सी । अमेरिकामा तीन दिनअघिसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार थियो। तर, अहिलेसम्म ३७ हजार नाघिसकेको छ।

अमेरिकामा संक्रमितको मृत्युदर तीव्र भएको जोन हप्किन्स विश्वविद्यालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ। अहिलेसम्म मृतकको संख्या ३७ हजार १५४ पुगेको छ। शुक्रबार मात्र त्यहाँ दुई हजार ५३५ जनाको मृत्यु भएको छ।

त्यहाँ गत विहिबार एकै दिन ६ हजार १८५ जनाको मृत्यु भएको थियो। सबैभन्दा बढी आक्रान्त भएको न्यूयोर्कमा कूल मृतकमध्ये आधा छन्। त्यहाँ १७ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

यसैबीच ‘लकडाउन’ खुकुलो बनाउन माग गर्दै बन्दुक बोकेर केही व्यक्ति प्रदर्शनमा उत्रिएका छन्। ती राज्यमा ‘लकडाउन’ कडा बनाउन माग गर्ने पनि सडकमा निस्किएका छन्। मिनिसोटा, मिचिगन र भर्जिनियामा प्रदर्शन भएको हो।