काठमाडौं । युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु बेलायतमा भएको देखिएको छ । बेलायत सरकारले जारी गरेको तथ्यांक अनुसार यसअघि युरोपको इपिसेन्टरका रुपमा रहेको इटालीमा भन्दा बढी मानिसको मृत्यु भएको हो ।

बेलायतभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९ हजार ४ सय २७ रहेको छ । इटालीमा भने हालसम्म २९ हजार ३ सय १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा इटालीमा भन्दा १ सय १२ जना बढी मानिसको ज्यान गएको छ । बेलायतका परराष्ट्र मन्त्री डोमिनिक र्याछवले यति धेरै मानिसको मृत्यु हुनु पीडादायी भएको बताउनुभएको छ ।

विज्ञहरुले भने विश्वमा कोरोना भाइरसको संक्रमण र यसबाट भएको मानवीय क्षतिको तथ्यांकको तुलनात्मक संख्या आउन केही महिनापछि मात्रै सम्भव हुने बताएका छन् । बेलायत र इटाली दुबै देशमा कोरोना भाइरस पोजेटिभ आएकाहरुको मृत्युदर उच्च रहेको छ ।

बीबीसीका तथ्याङ्क प्रमुखले इटालीभन्दा बेलायतको संक्रमण द्रूतगतिमा भएको जनाएका छन् । युरोपमा कोरोनाबाट बढी प्रभावित अन्य मुलुकमा स्पेन र फ्रान्स पनि रहेका छन् ।

स्पेनमा २५ हजार ६ सयभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने फ्रान्समा पनि २५ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वमै कोरोना भाइरसको संक्रमण र मृत्यु दर संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी रहेको छ ।

अमेरिकामा हालसम्म ७१ हजारभन्दा बढी मानिसको कोरोनाकै कारण ज्यान गइसकेको छ भने संक्रमितको १२ लाखभन्दा बढी रहेको छ । विश्वमा हालसम्म कोरोना संक्रमणका कारण २ लाख ५६ हजार ९ जनाको मृत्यु भइसकेको छ । यसैगरी संक्रमितको संख्या पनि ३६ लाख ५९ हजारभन्दा बढी रहेको छ । एजेन्सी