नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार २ सय १३ जना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । भारतमा पहिलो संक्रमण भेटिएयता एकैदिन सबैभन्दा बढीमा संक्रमण देखिएको हो ।

यससँगै सोमबार बिहानसम्म भारतमा संक्रमितको संख्या ६७ हजार १ सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ६ पुगेको छ ।

महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यमा लगातार कोरोना संक्रमण फैलिइरहेको छ । सोमबार बिहानसम्म महाराष्ट्रमा मात्रै २२ हजार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गुजरातमा ८ हजार १ सय ९४, तमिलनाडुमा ७ हजार २ सय ४ र दिल्लीमा ६ हजार ९ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै महाराष्ट्रमा सबैभन्दा बढी ८ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी गुजरातमा ४ सय ९३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब २१ हजार जना निको भएका छन् ।

भारतले लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण बढिरहेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणका कारण सोमबार बिहानसम्म २ लाख ८२ हजार ७ सय १९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या ४१ हजारभन्दा बढी नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये १४ लाख ११ हजारभन्दा बढी निको भएका छन् ।