अर्जुनधारा । झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा सम्पन्न भएको श्रीमद् लिङ्ग महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।

गत मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक अमृत बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक गरेको हो ।

महायज्ञको जम्मा आम्दानी चार लाख ३८ हजार २०३ रुपैयाँ, जम्मा खर्च एक लाख ९६ हजार दुई सय रुपैयाँ र जम्मा बचत दुई लाख ४२ हजार ३ रुपैयाँ रहेको संयोजक बुढाथोकीले जानकारी दिए । बचत भएको उक्त रकम शक्तिपीठ परिसरमा निर्माणाधीन अवस्थामा रहेको शेषनारायणको मन्दिरको भवनमा खर्च गरिने संयोजक बुढाथोकीले बताए ।

यसैबीच, महायज्ञको सन्दर्भमा सामाजिक क्षेत्रमा क्रियाशील शनिश्चरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको समूह ‘हामी ३८ से’बाट शेषनारायणको मन्दिर निर्माण गरिदिने घोषणा भएको कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।