धनकुटा । यहाँ जारी अग्नि बसुन्धरा रारा गोल्डकपको ९औँ संस्करणको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र सगरमाथा एफसी मोरङबीच हुने पक्का भएको छ ।

मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजले झिनो गोलअन्तरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक खेलमा क्यामरुनी टोली दाउफिन्स एफसीलाई १-० गोलले पराजित गर्दै चर्च ब्वाइजले बाजी मारेको हो ।

दाउफिन्स खेलाडी पहिलो हाफमै १० जनामा सीमित भएपछि चर्च ब्वाइजका लागि जीत केही सहज भएको थियो । खेलको ४१औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी पुजन उपरकोटीलाई दाउफिन्सका खेलाडी बी बेलमले नियतबस प्रहार गरेपछि रेफ्री श्याम दनुवारले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

खेलको ७०औँ मिनेटमा चर्च ब्वाइजका लागि खमिर गिल्सन कन्दङवाले निर्णायक गोल गर्दै टीमलाई कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरिदिएका छन् । खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका निरज बस्नेत घोषित भए । उनले नगद पाँच हजार पाए ।

गोल्डकपको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ । सगरमाथा र चर्च ब्वाइजबीचको भिडन्तमा उपाधि विजेताले नगद दुई लाखसहित ट्रफी पाउनेछ ।