बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

उपचारका क्रममा सुर्योदय नपा–९ इलामकी २१ वर्षीया बिबिसा तामाङको मृत्यु भएपछि पीडित परिवारका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । आक्रोशित आफन्तले चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका क्रममा पीडित पक्ष आक्रोशित हुँदै अस्पतालमा ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्च गरेको थियो । प्रहरीले लाठी चार्च गर्दै तीन सेल अश्रुग्यास समेत हानेको थियो ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले अस्पतालभित्र रहेका अन्य बिरामीको असुरक्षा बढेपछि बल गर्नु परेको दाबी गरेका छन् । बिर्तामोड नगरपालिकामा भएको छलफलमा उपरीक्षक मैनालीले भिड उत्तेजित भएपछि थप क्षति हुन सक्ने खतरा बढेकाले लाठी चार्ज गरेको बताएका हुन् ।

छलफलका क्रममा पीडितमाथि प्रहरीले लाठी चार्ज गरेर थप पीडित बनाएको भन्दै उनीहरुले कारबाहीको जोडदार माग गरेका थिए । नगर प्रमुख ध्रुव शिवाकोटी, अर्जुनधाराका मेयर हरि राना, प्रहरी प्रमुखसहित बसेको छलफलमा प्रहरीबाट भएको कमजोरी अनुसन्धान गरी बिभागीय कारबाही गर्ने सहमति भएको छ ।

भिड नियन्त्रणको क्रममा जनप्रतिनिधिलाई समेत प्रहरीले लाठी चार्च गरेको आफन्तजनले जानकारी दिएका छन् । ‘वडाध्यक्षलाई लाठी हान्ने काम भएको छ, यो हामीमाथि प्रहरीको दमन हो’, मृतकका बुबाले भने ।

यता, बिर्तामोड इप्रकाका डिएसपी मोहन थापाले भिडभाडमा आफुले समेत लठ्ठी खाएको सुनाएका छन् । उनले हात देखाउदै भने, ‘भिडमा मैले पनि भेटे ।’ सोही क्रममा उनी लडेका समेत थिए । प्रहरीपछि अस्पताल प्रशासनसग पीडित पक्षको छलफल चलिरहेको छ ।